वैशाख १०, शनिवार / संसारी पाना
मोरङ्ग – गणतन्त्र दिवसको अवसरमा मोरङ्गको धनपालथान ३ स्थित श्री शिवशक्ति माध्यमिक विद्यालयमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिएको छ, जसमा स्वास्थ्य मन्त्री प्रदीप यादव प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए।
गणेशमान सिंह फाउन्डेशन र लायन्स क्लब अफ बिराटनगरको संयुक्त आयोजनामा सम्पन्न यस कार्यक्रममा आँखाको परीक्षण, रक्तदान, मधुमेह र मुटु परीक्षण, विशेषज्ञ चिकित्सकद्वारा परामर्श तथा निःशुल्क औषधि वितरणजस्ता सेवा प्रदान गरियो।
स्वास्थ्य शिविरमा नोबेल अस्पताल, गोल्डेन हस्पिटल, बिराट आई हस्पिटल, एचएलसी-आई अस्पताल, नेपाल रेडक्रस सोसाइटी, विराट नर्सिङ कलेज लगायत विभिन्न स्वास्थ्य संस्था तथा स्वयंसेवी निकायहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, समाजसेवी, विद्यार्थी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रमुख अतिथि मन्त्री यादवले स्वास्थ्य सेवा पहुँचविहीन समुदायसम्म पुर्याउन यस्ता कार्यक्रमहरूको भूमिका महत्वपूर्ण हुने बताएका थिए।
गणतन्त्र दिवसलाई जनकल्याणकारी भावनासँग जोड्दै आयोजित कार्यक्रमले समुदायमा स्वास्थ्यप्रति चेतना फैलाउन मद्दत पुगेको आयोजक संस्थाहरूले बताएका छन ।


